Skip to content

बुढानीलकण्ठ नगरपालिकाको १८औँ नगरसभाको दोस्रो बैठक सम्पन्न, विकास र सेवा प्रवाहमा केन्द्रित छलफल

काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाको १८औँ नगरसभाअन्तर्गत दोस्रो बैठक नगर प्रमुख तथा नगरसभा अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा नगरको समग्र विकास, सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ  । बैठकमा नगर उपप्रमुख अनिता लामाले राजस्व परामर्श समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमा नगरको राजस्व व्यवस्थापन, स्रोत परिचालन तथा आगामी आर्थिक वर्षका लागि अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराइएको थियो  । त्यसैगरी न्यायिक समिति तथा विभिन्न विषयगत समितिहरूले आ–आफ्ना वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत अवधिमा सम्पन्न भएका कार्य, उपलब्धि तथा आगामी प्राथमिकताबारे जानकारी गराएका थिए ।

नगरसभा सदस्यहरूबीच आगामी योजना तथा कार्यक्रम, सेवा प्रवाहको प्रभावकारिता, स्थानीय आवश्यकताहरू र जनचासोसँग सम्बन्धित विषयमा अन्तरक्रिया तथा सुझाव आदानप्रदान भएको थियो। सहभागीहरूले नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । नगरपालिकाले नगरसभामार्फत विकास निर्माण, उत्तरदायी प्रशासन र जनमुखी सेवाको दायरालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसैबीच, नगरसभाको तेस्रो बैठक २०८३ साल असार ९ गते बिहान ११:०० बजे बस्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्