Skip to content

मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

नकपुरधाम । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार कुल २१ हजार ९८९ सडक दुर्घटनामा ४२ हजार ६३७ सवारी साधन परेका छन् । दुर्घटनाम २७४८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यस्तै दुर्गममा परेर १० हजार ८६६ जना गम्भीर घाइते र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा भएका छन् । धनुषामा पाँच वर्षको अवधिमा ४८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ भने २ हजार ९४३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ । बारामा ४ हजार ४ सय ६८ दुर्घटना हुँदा ४१६ जनाको मृत्यु तथा ७८१ जना गम्भीर घाइते भएका छन् । त्यस्तै सर्लाहीमा ४ हजार ७२ दुर्घटना, ३३६ जनाको मृत्यु र २ हजार १३२ गम्भीर घाइते भएका छन् । सिरहामा ३ हजार ५२६ दुर्घटना हुँदा ३७९ जनाको मृत्यु र एक हजार ७७८ जना गम्भीर घाइते भएका छन् । सप्तरीमा तीन हजार ७२० दुर्घटना हुँदा ३८३ जनाको मृत्यु र १ हजार २०८ जना गम्भीर घाइते भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै रौतहटमा तीन हजार ४०३ दुर्घटना हुँदा तीन सय जनाको मृत्यु र ७६९ जना गम्भीर घाइते भएका छन् । महोत्तरीमा तीन हजार ९१ दुर्घटना हुँदा २९८ जनाको मृत्यु र ८९० जना गम्भीर घाइते भएका छन् । यो अवधिमा सबैभन्दा कम दुर्घटना पर्सा जिल्लामा भएको देखिएको छ । त्यहाँ २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु र ३६५ जना गम्भीर घाइते भएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले मधेश जनसंख्या ठूलो प्रदेश भएकाले र सवारीसाधन र सडक पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताए । ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय गरेर सचेतनामूलक कार्यक्रमले न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । नीति निर्माणमा पनि ट्राफिक प्रहरीको आवाज नपुगेको र बजेटमा कमजोर रहेकाले त्यसमा राज्यले विचार गरिदिनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्