Skip to content

पासपोर्ट काण्डको निष्पक्ष छानबिन होस्, हामी सम्पत्ति विवरण बुझाउन तयार छौँ : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय चर्चामा रहेको ‘पासपोर्ट काण्ड’ को निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । पार्टीको नियमित संवाद शृंखला ‘ग्रिन टेबल’ मा बोल्दै सभापति थापाले उक्त प्रकरणमा छानबिन सुरू भएकोमा सन्तोष व्यक्त गर्दै यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । “पासपोर्ट काण्डबारे छानबिन सुरू भएको भन्ने थाहा भयो, यो छानबिन हुनैपर्छ,” थापाले भने, “तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ ।”  आफूहरूले सुरूदेखि नै राज्य र पार्टीभित्र समेत सुशासनको पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै सभापति थापाले सुशासन स्थापना गर्ने लडाइँमा आफूहरू अहिले पनि अडिग रहेको जिकिर गरे ।

सम्पत्ति छानबिन आयोगको विधिमाथि प्रश्न

सरकारले आर्थिक अपचलन र भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने उद्देश्यले गठन गरेको सम्पत्ति छानबिन आयोगको विधि र प्रक्रियाप्रति भने उनले असन्तुष्टि जनाए । आफूहरू सम्पत्ति छानबिनको पक्षमा स्पष्ट भए पनि कानुनी विधि र प्रक्रिया मिचिन नहुनेमा उत्तिकै सचेत रहेको उनको भनाइ थियो । थापाले अगाडि भने: “हामी भ्रष्टाचारको विरूद्धमा लडेर आएका हौं। तर अहिले सामान्यीकरण गरेर सबै गलत भन्ने भाष्य बनाइँदैछ। हामी यो सफा गर्छौं । त्यसैका लागि पनि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्छौं। तर त्यो काम विधि र कानुनलाई पछयाएर हुनुपर्छ। हाम्रो चासो यही हो ।” शासकीय सुधारको कानुनी प्रबन्ध नगरेरै सम्पत्ति छानबिनको हतारो गर्दा जनताको सुशासनको चाहना फेरि पनि नतिजामा नपुगी टुंगिने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे।

संसदबाट शक्तिशाली आयोग गठन गर्नुपर्ने माग

वैधानिक रूपमा संसदबाटै शक्तिशाली छानबिन आयोग गठन गरेर अघि बढेको भए यसको क्षेत्राधिकार स्पष्ट हुने र काम गर्ने शैली प्रभावकारी हुने थापाको तर्क छ। यसो गर्दा जनतामा विश्वसनीयता अझ धेरै बढ्नजाने उनले बताए । विधि र प्रक्रियामा प्रश्न उठाए पनि आफूहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाउने थापाले जानकारी दिए। “विधि र कानुनभन्दा माथि कोही हुँदैन। हामीहरू आयोगलाई सम्पत्ति विवरण बुझाउँछौं,” थापाले स्पष्ट पारे, “तर विधि र प्रक्रियाको कुराहरू पनि सँगसँगै उठाइरहन्छौं। किनकि हामी नेपाली समाजलाई प्रष्ट बनाउन चाहन्छौं।”

प्रतिक्रिया दिनुहोस्