काठमाडौँ – ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । आरोपी भट्ट सरकारी कर्मचारी हुन् । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको थाहा भएको छ ।
गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ । पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले त्यसबारे अनुसन्धान थालेको थियो । सिसिटिभी फुटेज सङ्कलन गरेर घटनाबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्