काठमाडौं – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ। यसको प्रभावका कारण कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र कोशीका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा कोशी र मधेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिमका तराईका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा भए त्यसलाई भारी वर्षा मानिन्छ । यस्तै, उच्च हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र सडक यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्