Skip to content

नेपाली कांग्रेस विभाजनको संघारमा, देउवा समूहले राष्ट्रिय भेला बोलायो

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिँदै जाँदा पार्टी विभाजनको सम्भावना बलियो बनेको छ। सभापति गगन थापासहित पार्टी नेतृत्वले एकताका लागि सार्थक पहल नगरेको आरोप लगाउँदै संस्थापन इतर अर्थात् शेरबहादुर देउवा समूहले अलग बाटो रोज्ने संकेत दिएको हो।

यसैक्रममा देउवा समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलाको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका अधिकांश शीर्ष नेताहरू सहभागी भएका थिए।

भेलाका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। नेता मीन विश्वकर्माका अनुसार राजनीतिक, समसामयिक राजनीतिक, सांगठानिक, विधान मस्यौदालगायत विषयमा १६ वटा तयारी समिति पनि बनाइएको छ। समितिका संयोजक र सदस्यहरू तोक्न चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाइने उनले जानकारी दिए।

आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न आफूहरूले निरन्तर प्रयास गरे पनि नेतृत्व तहबाट अपेक्षित भूमिका नदेखिएपछि राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताए। उनका अनुसार पार्टीभित्र देखिएको अन्योल, कार्यकर्ता र शुभेच्छुकहरूमा बढ्दो निराशा तथा मुलुकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दामाथि गम्भीर छलफल गर्दै नयाँ वैचारिक र संगठनात्मक कार्यदिशा तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।

शशांकले नेता शेखर कोइरालाले पनि अभियानप्रति सहमति जनाएको दाबी गरे। व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसके पनि शेखरले आफ्नो समर्थन रहेको जानकारी गराएको उनले बताए।

उता संस्थापन पक्षले भने विशेष महाधिवेशनको प्रस्ताव अस्वीकार गर्दै विधानबाहिरका माग अघि सारिएको भन्दै सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले दिएको मान्यताविरुद्ध इतर समूह पुनः अदालत पुगेपछि दुई पक्षबीचको दूरी अझ बढेको बताइएको छ।

यद्यपि, राष्ट्रिय भेलापछि देउवा समूहले नयाँ राजनीतिक दल गठनको गृहकार्य अघि बढाउने चर्चा राजनीतिक वृत्तमा चलिरहेको भए पनि यसबारे औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्