काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि नयाँ वार्ता सुरु हुने बताएका छन् । उनले इरानमाथि गर्ने तयारीमा रहेको ठूलो सैन्य आक्रमण मध्यपूर्वी सहयोगी राष्ट्रहरू र इरानको आग्रहपछि स्थगित गरिएको दाबी गरेका छन् ।
मोहम्मद बिन सलमानसहित साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारले सैन्य कारबाही नगर्न आग्रह गरेको उनको भनाइ छ । उनले स्ट्रेट अफ होर्मुज र इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौताको सम्भावना रहेको पनि बताएका छन् । यद्यपि, इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीले तेहरानले अमेरिकासँग सैन्य कारबाही रोक्न कुनै आग्रह नगरेको भन्दै ट्रम्पको भनाइलाई ‘नयाँ झुट’ भनेको छ ।
ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । होर्मुजबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानी हुने भएकाले त्यहाँको अवस्थाले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले ओमानको मध्यस्थतामा भइरहेको होर्मुजसम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । तर, सोमबार हुने भनिएको अमेरिका–इरान वार्ता कहाँ र कसको सहभागितामा हुने भन्ने विषयमा अमेरिकाले अझै स्पष्ट जानकारी दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्