काठमाडौं – नेपाली कांग्रेसले सुनसरी र मधेस प्रदेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले गृह मन्त्रालयले गठन गरेको समितिले घटनाको निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै स्वतन्त्र र निष्पक्ष न्यायिक समिति आवश्यक रहेको बताए। उनका अनुसार कांग्रेसले दुवै सदनमा न्यायिक समिति गठनको अडान कायम राख्नेछ। बैठकले तीन जनाको मृत्यु तथा थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन सरकारले न्यायिक समिति गठन गर्नुपर्नेमा जोड दिएको छ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। उनले यस विषयमा अन्य प्रतिपक्षी दलसँग पनि सहकार्य गरिने जानकारी दिए। त्यसैगरी, कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार बैठकले नागरिक, सांसद र संसदबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन सांसद समन्वयसम्बन्धी कार्यादेशसमेत पारित गरेको छ।



प्रतिक्रिया दिनुहोस्