काठमाडौं – मध्यपूर्वको होर्मुज जलडमरूमध्यमा बढ्दो तनाव समाधानका लागि अमेरिका, इरान, ओमान र कतारबीच कूटनीतिक सम्पर्क तीव्र बनेको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका छन् भने कतारले सबै पक्षसँग समन्वय गरेर युद्धको कूटनीतिक समाधान खोज्ने प्रयास जारी रहेको जनाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार वार्ताको मुख्य उद्देश्य होर्मुज हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा ढुवानीका लागि सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्नु हो। यद्यपि, जहाजको सुरक्षित आवतजावत, मार्ग सञ्चालनको स्वरूप तथा इरानले लिन सक्ने शुल्कलगायतका विषयमा अझै सहमति जुट्न बाँकी रहेको बताइएको छ।
विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य लामो समय अवरुद्ध भएमा तेल तथा ग्यास आपूर्ति, विश्व व्यापार र ढुवानी लागतमा गम्भीर असर पर्ने जोखिम रहन्छ।
यसैबीच, होर्मुज पुनः सञ्चालन हुनसक्ने सम्भावनासँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सकारात्मक संकेत देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल झरेको छ। युद्ध उत्कर्षमा पुगेका बेला यही मूल्य १०० डलरभन्दा माथि पुगेको थियो।
तेलको मूल्य घट्दा पेट्रोलियम पदार्थ, विद्युत् उत्पादन तथा ढुवानी लागतमा राहत पुग्ने अपेक्षा गरिएको छ। यसको प्रभाव विश्वभर इन्धन तथा वस्तु–सेवाको मूल्यमा समेत देखिन सक्ने विश्लेषण गरिएको छ। अमेरिकी सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ।
तर, कूटनीतिक पहल अघि बढिरहेकै बेला रेड सीमामा अर्को सुरक्षा चुनौती देखिएको छ। यमनको अल–हुदैदाह नजिक भारतीय झण्डावाहक व्यापारिक जहाज ‘फाइज नुरे ओलिया’ माथि विस्फोटक पदार्थ बोकेको डुङ्गाबाट आक्रमण भएको छ। आक्रमणपछि जहाज डुबेको भए पनि चालकदलका १४ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १३ जना भारतीय र एक जना यमनी नागरिक रहेका छन्।
रिपोर्टअनुसार जहाज यमनको पश्चिमी तटबाट करिब १३ समुद्री माइल दक्षिणतर्फ रहेका बेला आक्रमणमा परेको थियो। घटनाले रेड सी र बाब अल–मन्देब क्षेत्रमा व्यापारिक जहाजमाथिको सुरक्षा जोखिम अझै उच्च रहेको देखाएको छ। यस क्षेत्रमा विगतदेखि नै हुथी विद्रोहीसँग सम्बन्धित आक्रमणका कारण अन्तर्राष्ट्रिय जहाजहरूले वैकल्पिक तथा लामो समुद्री मार्ग प्रयोग गर्दै आएका छन्।
विश्लेषकहरूका अनुसार होर्मुजमा कूटनीतिक समाधानतर्फ प्रगति हुनु विश्व अर्थतन्त्रका लागि सकारात्मक संकेत भए पनि रेड सीमामा जारी असुरक्षाले विश्वव्यापी आपूर्ति शृंखला र समुद्री व्यापारमा जोखिम कायमै राखेको छ।
यदि होर्मुज जलडमरूमध्य सुरक्षित रूपमा सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आयो भने विश्व तेल बजारमा थप राहत, ढुवानी लागतमा कमी तथा लगानीकर्ताको विश्वास बढ्न सक्ने अपेक्षा गरिएको छ। तर, सम्झौता असफल भए वा समुद्री क्षेत्रमा पुनः सैन्य तनाव चर्किए तेलको मूल्य, बीमा शुल्क, जहाज सञ्चालन र विश्वव्यापी आपूर्ति प्रणालीमा फेरि दबाब बढ्न सक्ने चेतावनी दिइएको छ।



प्रतिक्रिया दिनुहोस्