Skip to content

सरकार असफल भएको कांग्रेसको दाबी, १५ बुँदे आरोप सार्वजनिक !

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको निष्कर्ष निकाल्दै १५ बुँदे आरोप सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रता, किसान, सुकुम्बासी, निजी क्षेत्र र महँगीसम्मका विषयमा सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए।

कांग्रेसले सरकारप्रति जनविश्वास निरन्तर खस्किँदै गएको दाबी गर्दै राजनीतिक स्टन्टभन्दा पारदर्शिता र जवाफदेहितामार्फत जनविश्वास पुनःस्थापित गर्न आग्रह गरेको छ। अन्यथा वर्तमान सरकार इतिहासमा समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा दर्ज हुने चेतावनी पनि कांग्रेसले दिएको छ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकार संयमित र जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै कांग्रेसले घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। साथै, मृतकका परिवारलाई सुरक्षा, घाइतेको निःशुल्क उपचार तथा आगजनी र तोडफोडबाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ।

कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, दोषीलाई कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले आरोपित ठहर गरेका व्यक्तिहरू सरकारमै रहँदा निष्पक्ष अनुसन्धान सम्भव नहुने भन्दै कांग्रेसले सरकारको नियतमाथि प्रश्न उठाएको छ।

त्यसैगरी, कांग्रेसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै सभापति गगनकुमार थापासहित सञ्चारकर्मी र सञ्चार संस्थालाई लक्षित गरी निगरानी र त्रास सिर्जना गरिएको दाबी गरेको छ। माइतीघरबाट पक्राउ परेका जेनजी अभियन्तामाथिको कारबाहीको विरोध गर्दै प्रश्न सोधेकै आधारमा नागरिकलाई पक्राउ गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न माग गरिएको छ।

राहदानी खरिद प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै कांग्रेसले प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार र सम्बन्धित विदेशी कम्पनीबीचको सम्बन्धबारे सरकारले तथ्यसहित स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ। साथै, गृहमन्त्रीमाथि उठेका गम्भीर आरोपको निष्पक्ष अनुसन्धान हुन नसकेको भन्दै सरकारको नियतमाथि पनि कांग्रेसले प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्