Skip to content

रुग्ण राष्ट्रिय उद्योगमा सुधारका संकेत देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानहरूमा सुधारका संकेत देखिन थालेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले इमान्दार प्रयास, कानुनको कार्यान्वयन, सहजीकरण र निरन्तरको ‘टिमवर्क’का कारण केही राष्ट्रिय उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई सरकारले सुरुदेखि नै प्राथमिकतामा राखेको बताएका छन्। उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा भएका सुधारका विवरणसमेत सार्वजनिक गरेका छन् ।

उनका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको शाहको भनाइ छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारले आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखेको पनि उनले बताएका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादनको तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको जनाइएको छ।

त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको शाहले बताएका छन्। उद्योगका तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको उनले उल्लेख गरेका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने योजना रहेको छ।

नेपाल वायुसेवा निगमको आम्दानीमा समेत वृद्धि भएको प्रधानमन्त्री शाहको दाबी छ। उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। सो अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको उनले बताएका छन्। यही अवधिमा जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।

दुग्ध विकास संस्थान (डीडीसी) मा पनि सुधारका प्रयास अघि बढाइएको शाहले बताएका छन्। किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको उनको भनाइ छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको तथा सुधारका प्रयासपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेर औसत दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको उनले बताएका छन्।

कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको पनि शाहले उल्लेख गरेका छन्। साथै, खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको उनले बताएका छन्।

त्यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको शाहको दाबी छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी रहेको उनले बताएका छन्।

हाल वैद्यखानाबाट १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको र चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। साथै, निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्