Skip to content

हङकङबाट बैंकक पुगे देउवा, विमानस्थलमा भव्य स्वागत गर्ने तयारी

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्कने समय परिवर्तन भएको छ। यसअघि २६ साउनमा स्वदेश फर्किने तयारीमा रहेका देउवा अब २८ साउनमा नेपाल आउने भएका छन् । देउवा २८ गते बिहीबार थाइ एयरवेजको विमानमार्फत नेपाल फर्किने कार्यक्रम तय भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार देउवा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगिसकेका छन् । अब उनी बैंककबाटै नेपाल फर्किनेछन् ।

यसअघि देउवा २६ साउनमा नेपाल फर्किएर राजनीतिक भेटघाटमा सहभागी हुने र २९ साउनमा आयोजना हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने तयारी थियो । विश्वकर्माका अनुसार देउवा फर्कने क्रममा विमानस्थलमा समर्थक तथा नेताहरूले स्वागत गर्ने इच्छा व्यक्त गरेपछि समय परिवर्तन गरिएको हो । हङकङबाट नेपालका लागि रात्रिकालीन उडान मात्रै रहेकाले दिउँसो स्वागत गर्न सहज हुने गरी देउवा बैंकक हुँदै नेपाल फर्किन लागेका हुन् ।

देउवाको आगमनसँगै कांग्रेसभित्र राजनीतिक भेटघाट र गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, संस्थापनइतर समूहका नेताहरूले राष्ट्रिय भेलाअघि राजनीतिक भेटघाटको वातावरण नबनोस् भनेर देउवाको फर्कने समय सारिएको भन्ने चर्चालाई अस्वीकार गरेका छन् । इतर समूहका एक नेताका अनुसार देउवाको भव्य स्वागत गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्