काठमाडौं – सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच आइतबार साँझ ४५ मिनेट भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने बालुवाटार पुगेका थिए । भेटमा सरकारका सम्भावित कदम, राजनीतिक नियुक्ति, पार्टीका अपेक्षा तथा मन्त्रीहरूको भूमिकालगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ । बालेनले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमार्फत आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको अभिव्यक्ति दिएपछि लामिछाने असन्तुष्ट रहेको बताइएको थियो । यही पृष्ठभूमिमा भएको भेटलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।
भेटमा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण र सभापति लामिछानेको केही दिनपछि हुने भनिएको चीन भ्रमणबारे समेत कुराकानी भएको स्रोतको भनाइ छ । यस्तै, राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा सरकारमा रहेका मन्त्रीहरूको भूमिकाबारे पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।
बालुवाटार स्रोतले भने दुई नेताबीच ठूलो दरार उत्पन्न भएको भन्ने बुझाइ सही नभएको जनाएको छ । ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ स्रोतले भनेको छ । पार्टी स्रोतका अनुसार लामिछाने उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई साथमा लिएर बालुवाटार पुगेका थिए । यद्यपि, सुरक्षा स्रोतले यसको पुष्टि गरेको छैन । प्रधानमन्त्री शाहसँग मुख्य सल्लाहकार कुमार बेन पनि रहेको बताइए पनि बेनले आफू भेटमा सहभागी नभएको दाबी गरेका छन् ।
बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री शाहले निवासमा अनौपचारिक जमघट तथा पारिवारिक भेटघाटबाहेक नियमित रूपमा भेटघाट नगर्ने गरेको बताइन्छ । यसअघि भएको भेटमा भने लामिछाने र शाहसँग कुमार बेनसहित उच्च तहका केही नेता सहभागी भएको उच्च सुरक्षा स्रोतले जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्