काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले आफू संसद्मा नै ‘अग्निपरीक्षा’ दिन तयार भएर उभिएको बताए । उनले आफूले मदिरा सेवन गरेको र अश्लील भिडियोसँग जोडिएको भन्दै विभिन्न आरोप लगाइएकोप्रति आपत्ति जनाएका हुन् ।
शाहीले आफ्नो स्वास्थ्य परीक्षण गर्न संसद्मै स्वास्थ्यकर्मीको टोली खटाउन माग गरे । आफ्नो शरीरको प्रत्येक अंग, रगतदेखि छालासम्म परीक्षण गर्न आग्रह गर्दै उनले जन्मदेखि अहिलेसम्म आफूले मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । ‘मेरो शरीरको प्रत्येक अंग जाँच गरियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने । आफूलाई अश्लील भिडियोसँग जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै पनि शाहीले त्यसको सत्यतथ्य जाँच गर्न चुनौती दिए । सामाजिक सञ्जालमा भेटिएको कुनै अर्कै व्यक्तिको अश्लील भिडियो आफू भएको भन्दै प्रचार गरिएको दाबी गर्दै उनले उक्त भिडियो आफ्नो भएको प्रमाणित भए राजनीतिक जीवनबाटै संन्यास लिने बताए ।
शाहीले आफूविरुद्ध भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्न माग गरे । गलत सूचना फैलाएर आफ्नो चरित्रमाथि प्रश्न उठाउनेहरूलाई कारबाही गर्न उनले गृहमन्त्रीसँग आग्रह गरे । शाहीले आफ्नो भनाइको सन्दर्भमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको प्रसंगसमेत उल्लेख गर्दै गलत र भ्रामक सूचनाका कारण आफूले पीडादायी अवस्था भोग्नुपरेको बताए ।



प्रतिक्रिया दिनुहोस्