Skip to content

आज दुर्लभ खग्रास सूर्यग्रहण, नेपालबाट भने देखिँदैन

काठमाडौँ – आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो सूर्यग्रहणको पूर्ण अवस्था ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, उत्तर आन्ध्र महासागर तथा स्पेन र पोर्चुगलका केही भूभागबाट देखिनेछ। तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन। नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान गरिएको छ। उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य हेर्न सक्नेछन्।

कहाँबाट सुरु हुन्छ ग्रहण ?

आज चन्द्रमाको छाया उत्तरी रुसबाट अघि बढ्दै ग्रिनल्यान्ड, आइसल्यान्ड र उत्तर आन्ध्र महासागर हुँदै युरोपतर्फ सर्नेछ। त्यसपछि पूर्ण ग्रहणको क्षेत्र स्पेनसम्म पुग्नेछ। पूर्ण ग्रहणका क्रममा चन्द्रमाले सूर्यको उज्यालो भाग पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार अधिकांश स्थानमा पूर्ण ग्रहण दुई मिनेटभन्दा कम समय रहनेछ। केही स्थानमा भने यो अवधि दुई मिनेटभन्दा केही बढी हुन सक्नेछ। स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहरबाट पूर्ण ग्रहण देखिनेछ। नासाका अनुसार लियोनमा स्थानीय समयअनुसार साँझ ८ः२८ बजे पूर्ण ग्रहण सुरु भई करिब दुई मिनेट रहनेछ। आइसल्यान्डको राजधानी रेक्जाभिकमा भने साँझ करिब ५ः४८ बजे पूर्ण ग्रहण सुरु हुनेछ।

नेपाल र एसियाबाट किन देखिँदैन ?

सूर्यग्रहण पृथ्वीका सबै स्थानबाट देखिने घटना होइन। सूर्य, चन्द्रमा र पृथ्वी निश्चित ज्यामितीय अवस्थामा आउँदा चन्द्रमाले सूर्यको प्रकाश छेक्छ। त्यसबाट बन्ने छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्छ। १२ अगस्टको ग्रहणमा चन्द्रमाको ‘उम्ब्रा’ अर्थात् पूर्ण छाया उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै जानेछ। पूर्ण ग्रहणको मार्ग उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर आन्ध्र महासागर हुँदै स्पेनसम्म फैलिनेछ। नेपाल उक्त छायाको क्षेत्रमा नपर्ने भएकाले देशका कुनै पनि स्थानबाट आजको सूर्यग्रहण देखिने छैन। भारतबाट समेत यो ग्रहण देखिने छैन।

युरोपमा विशेष आकर्षण

आजको खग्रास सूर्यग्रहणको मुख्य आकर्षण स्पेनमा रहनेछ। उत्तरी तथा पूर्वी स्पेनका विभिन्न सहर पूर्ण ग्रहणको मार्गमा पर्ने भएकाले ठूलो संख्यामा मानिसहरू ग्रहण अवलोकनका लागि तयारीमा छन्। स्पेनका म्याड्रिड र बार्सिलोना भने पूर्ण ग्रहणको मुख्य क्षेत्रमा पर्ने छैनन्। यद्यपि, त्यहाँ सूर्यको ९९ प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाक्ने अनुमान गरिएको छ। पेरिस, लन्डन र बर्लिनबाट पनि आंशिक ग्रहण देखिनेछ। ती सहरमा क्रमशः सूर्यको करिब ९२, ९१ र ८५ प्रतिशत भाग ढाकिने अनुमान छ।

उत्तर अमेरिकामा पनि आंशिक ग्रहण

उत्तर अमेरिकाका केही क्षेत्रमा पनि आंशिक सूर्यग्रहण देखिनेछ। अलास्का र क्यानडाका केही क्षेत्रमा सूर्यको उल्लेख्य भाग चन्द्रमाले ढाक्नेछ। क्यानडाको सेन्ट जोन्समा करिब ५३ प्रतिशत, मोन्ट्रियलमा १८ प्रतिशत र टोरोन्टोमा करिब ८ प्रतिशत सूर्य ढाकिने अनुमान गरिएको छ। अमेरिकाको अलास्काका केही क्षेत्रमा भने करिब ३७ प्रतिशतसम्म सूर्य ढाकिन सक्नेछ। नासाका अनुसार उत्तर अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा साँझतिर देखिनेछ।

सूर्यग्रहण कसरी हुन्छ ?

चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाशलाई केही समयका लागि छेक्दा सूर्यग्रहण हुन्छ। सूर्यग्रहण मुख्यतः चार प्रकारका हुन्छन्—आंशिक, पूर्ण (खग्रास), वलयाकार र हाइब्रिड। आंशिक सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र ढाक्छ। पूर्ण सूर्यग्रहणमा सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाकिँदा केही समयका लागि सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ देख्न सकिन्छ। वलयाकार ग्रहणमा चन्द्रमा पृथ्वीबाट तुलनात्मक रूपमा टाढा भएकाले सूर्यलाई पूर्ण रूपमा ढाक्न सक्दैन र सूर्यको वरिपरि उज्यालो घेरा देखिन्छ। हाइब्रिड ग्रहण भने अत्यन्त दुर्लभ हुन्छ, जसमा पृथ्वीका फरक स्थानबाट पूर्ण र वलयाकार दुवै स्वरूप देखिन सक्छ।

नाङ्गो आँखाले हेर्न मिल्छ ?

सामान्य अवस्थामा सूर्यग्रहणलाई नाङ्गो आँखाले हेर्नु जोखिमपूर्ण हुन्छ। ग्रहणको आंशिक चरणमा प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्छ। साधारण सनग्लासले आँखालाई पर्याप्त सुरक्षा दिँदैन। पूर्ण सूर्यग्रहणका क्रममा चन्द्रमाले सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाकेको छोटो अवधिमा मात्र विशेष सुरक्षा बिना हेर्न सकिन्छ। पूर्णता सुरु हुनुअघि र समाप्त भएपछि भने फेरि सुरक्षित सौर्य फिल्टर प्रयोग गर्न आवश्यक हुन्छ।

नेपालबाट कसरी हेर्ने ?

नेपालबाट आजको सूर्यग्रहण प्रत्यक्ष देखिने छैन। नेपाली आकाश निरीक्षकहरूले नासालगायत विश्वसनीय अन्तरिक्ष तथा खगोलीय संस्थाका अनलाइन प्रत्यक्ष प्रसारणमार्फत ग्रहणको पूर्ण अवस्था हेर्न सक्नेछन्।

अर्को खग्रास सूर्यग्रहण कहिले ?

आजको ग्रहणपछि अर्को महत्वपूर्ण पूर्ण सूर्यग्रहण २ अगस्ट २०२७ मा हुनेछ। उक्त ग्रहणको पूर्णताको मार्ग दक्षिणी स्पेन, उत्तर अफ्रिका, साउदी अरब र यमनसम्म फैलिनेछ।

प्रतिक्रिया दिनुहोस्