Skip to content

एमालेमा पुनर्जागरण अभियानको दबाब : ओलीलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग

काठमाडौं – नेकपा एमालेभित्र पार्टी पुनर्जागरण अभियान चलाइरहेको समूहले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिएको छ। पार्टीको साख जोगाउन र संगठनलाई नयाँ गति दिन तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर पछिल्लो चुनावी पराजयको मिहीन समीक्षा गर्न तथा संगठन पुनर्गठनको प्रक्रिया अघि बढाउन अभियानले माग गरेको हो। पुनर्जागरण अभियानका नेताहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, नवीना लामा लगायतले अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टी सुधारका विभिन्न माग अघि सारेका छन्।

अभियानले यसअघि गठित कार्यदलले सातै प्रदेशका १३ क्लस्टरबाट सुझाव संकलन गरी तयार पारेको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटीमा पेस गरी सार्वजनिक गर्न माग गरेको छ। त्यस्तै, लामो समयदेखि पार्टीका महत्वपूर्ण निकायका बैठकहरू नबस्दा कार्यकर्तामा निराशा बढेको भन्दै अविलम्ब केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने अभियानको माग छ। अभियानले चुनावी हारको गम्भीर आत्मसमीक्षा गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्संरचना गर्न ठोस कार्ययोजना ल्याउन पनि माग गरेको छ। साथै आन्तरिक लोकतन्त्रको पुनर्वहाली, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विधि र कमिटी प्रणालीलाई प्रभावकारी बनाउने तथा सामूहिक निर्णय प्रक्रियालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ।

अभियानले मुलुकमा अन्तर्राष्ट्रिय सम्बन्ध थप जटिल बन्दै गएको तथा आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको अवस्थामा एमालेले आफ्नो राजनीतिक भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएको छ। पार्टीको वर्तमान अवस्था सुधारका लागि नेतृत्वले तत्काल ठोस कदम चाल्नुपर्ने भन्दै अभियानले संगठनलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाउन केन्द्रीय कमिटीबाटै आवश्यक निर्णय गर्नुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्