Skip to content

खगराज भट्ट सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ ग्रहण हुने

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन् । सोही समयभित्र एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले शुक्रबार नै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपाका एक सांसदका अनुसार बिहान ११ बजे मुख्यमन्त्री नियुक्त भएपछि दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्री बनेलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

सुदूरपश्चिममा नेकपा र एमालेबीच यसअघि नै मन्त्रालय भागबन्डा भइसकेको छ । जसअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ । एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ । यसअघि ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रदेश सरकार अल्पमतमा परेको थियो । शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुख मियाँसमक्ष राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्