Skip to content

कांग्रेसको नयाँ एजेन्डा सत्ता होइन, शिक्षा, स्वास्थ्य र रोजगारी हुनुपर्छ : शेर्पा

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टीको आगामी राजनीतिक एजेन्डाको पहिलो प्राथमिकतामा देश र जनतालाई राख्नुपर्ने बताएका छन् । स्थानीय तहमा लोकप्रिय नेताका रूपमा परिचित शेर्पाले अहिले कांग्रेसभित्र नेतृत्व र पदलाई लिएर बहस भइरहेका बेला व्यक्ति र पदभन्दा माथि उठेर जनताको पक्षमा राजनीति गर्नुपर्ने धारणा राखेका हुन् । उनले अदालतले कसलाई मान्यता दिन्छ वा पार्टीभित्र कसले नेतृत्वको जिम्मेवारी पाउँछ भन्ने विषयभन्दा नेतृत्वमा पुग्ने व्यक्तिले देश र जनताको हितमा कस्तो काम गर्छ भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन् ।

शेर्पाले कांग्रेसले अब दुईवटा विषयमा साहसिक र स्पष्ट निर्णय गर्नुपर्ने बताएका छन्, सबैका लागि निःशुल्क गुणस्तरीय शिक्षा र सबैका लागि निःशुल्क स्वास्थ्य उपचार। आर्थिक अभावका कारण कुनै पनि गरिब परिवारका छोराछोरीले आफ्नो सपना त्याग्न नपर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । डाक्टर, इन्जिनियर, शिक्षक, पाइलट, वैज्ञानिक, प्राविधिकलगायत आफूले चाहेको क्षेत्रमा अघि बढ्न चाहने युवालाई आर्थिक अभावकै कारण अवसरबाट वञ्चित गर्न नहुने उनले बताएका छन् । त्यस्तै, परिवारमा कोही बिरामी पर्दा उपचार खर्च जुटाउने चिन्ताले नेपाली नागरिकलाई सताउन नहुने भन्दै स्वास्थ्य उपचारलाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने शेर्पाको धारणा छ ।

शेर्पाले गाउँको विकासलाई पनि कांग्रेसको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन, रोजगारी, प्रविधि र उद्यमशीलताको विकास गर्न सके युवालाई गाउँमै रोक्न सकिने उनको विश्वास छ । ‘गाउँ बलियो भयो भने मात्र देश बलियो हुन्छ’ भन्ने धारणा राख्दै उनले गाउँमै रोजगारी र उत्पादनका अवसर सिर्जना गर्न सके विदेश पलायनको बाध्यता कम गर्न सकिने बताएका छन् । उनका अनुसार कांग्रेसले अब केवल सरकार वा सत्ता प्राप्त गर्ने एजेन्डा लिएर अघि बढ्नु पर्याप्त छैन। गरिब जनता, किसान, युवा, विद्यार्थी र आम नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रम पार्टीको प्राथमिकतामा हुनुपर्छ ।

निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार तथा गाउँमै रोजगारी र विकासका अवसर सिर्जना गर्ने स्पष्ट नीति र कार्यान्वयनको प्रतिबद्धता कांग्रेसले अघि सार्न सके मात्रै जनतामाझ पार्टीप्रतिको विश्वास र आशा पुनः जागृत हुने शेर्पाको भनाइ छ । ‘कसले कुन पद पायो भन्नेभन्दा कांग्रेसले देश र जनताका लागि के गर्‍यो भन्ने कुरा महत्वपूर्ण हो,’ शेर्पाले भनेका छन् । उनले व्यक्ति र पदभन्दा माथि उठेर देश, लोकतन्त्र र जनताको भरोसा जोगाउने दिशामा कांग्रेस अघि बढ्नुपर्ने बताएका छन् । ‘अबको कांग्रेस व्यक्तिको होइन, जनताको कांग्रेस बनोस् । अबको एजेन्डा पद होइन, देश बनोस्। गाउँ बलियो बनाऔँ, युवा गाउँमै रोकौँ, गरिब जनताको जीवन बदलौँ,’ शेर्पाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्