Skip to content

पाँच प्रदेशमा वर्षा जारी, राति पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौं –  हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्र आसपास अझै थप वर्षा हुने सम्भावना रहेको छ । आज देशका धेरैजसो स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाका कारण ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन तथा पर्वतारोहण क्षेत्रमा समेत असर पर्न सक्ने सम्भावना रहेको छ। त्यस्तै, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । सम्बन्धित क्षेत्रका नागरिकलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउनुका साथै मौसम तथा विभागबाट जारी हुने पछिल्ला सूचना नियमित रूपमा लिएर आवश्यक निर्णय गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्