काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा नेताहरूको घरमा नभई कार्यकर्तामाझ रहेको बताएका छन्। उनले पार्टीको आत्मा नेताको घरमा लुकेको छ कि भनेर खोज्दै आफू नहिँड्ने टिप्पणी गरेका हुन्। काठमाडौंमा धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘आत्मा नेताहरूको घरमा लुकेको छ कि भनेर खोज्न म जान्नँ।’ साउन २९ गते संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटनका क्रममा नेता प्रकाशशरण महतले ‘सानेपामा पार्टीको शरीर मात्र छ, आत्मा छैन’ भनेका थिए। महतको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले पार्टीको आत्मा नेताको घरमा खोज्नुभन्दा कार्यकर्तामाझ रहेको बताए।
संस्थापनइतर पक्षले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरी सुकेधारामा तीनदिने राष्ट्रिय भेला गरेपछि त्यसबारे आफूले सोमबार जवाफ दिने पनि थापाले बताए। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी करिब एक घण्टा यस विषयमा धारणा राख्ने उनको भनाइ थियो। यद्यपि, आजको कार्यक्रममा भने आफूले विमोचन गरेको पुस्तक र त्यससँग सम्बन्धित विषयमा केन्द्रित हुन पत्रकारहरूलाई थापाले आग्रह गरे। सभापति थापाले नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहलाई कुनै व्यक्ति वा समूहले निजी बनाउन नहुने बताए। उनले बीपी र गणेशमानको राजनीतिक योगदानलाई कुनै एउटा घर वा समूहभित्र सीमित गर्न नहुने धारणा राखे। ‘बीपी कोइरालालाई कसैले वा गणेशमानलाई कसैले यो घरभित्र कैद गर्न दिनुहुन्न,’ उनले भने, ‘आज बीपीको अपव्याख्या हुँदै गर्दा बीपीको आह्वानमा आन्दोलनमा उत्रिएका अगाडि आएर उहाँबारे बुझाउनुपर्छ।’
थापाले बीपीसँग प्रत्यक्ष संवाद गरेका र तत्कालीन आन्दोलनमा सहभागी भएका व्यक्तिहरूले बीपीका विचार र योगदानबारे बोल्नुपर्ने बताए। आफूहरूलाई बीपीसँग प्रत्यक्ष भेटेर कुराकानी गरेको आधिकारिकता नरहेको भन्दै उनले इतिहासका साक्षी व्यक्तिहरूको अनुभव महत्वपूर्ण हुने उल्लेख गरे। राष्ट्रिय भेलामा नेताहरूले आफूविरुद्ध गरेका टिप्पणीबारे पनि थापाले पछिल्ला तीन दिनमा सञ्चारमाध्यमबाट जानकारी पाएको बताए। तर व्यक्तिगत निन्दा र आरोप–प्रत्यारोपलाई प्राथमिकता नदिन उनले सञ्चारमाध्यमलाई आग्रह गरे। ‘सबै निन्दा हेडलाइन। कसले कति बढी निन्दा गर्यो भन्ने टिपेर देखाइहाल्या छ,’ थापाले भने, ‘कहिलेकाहीँ इतिहास र विषयकेन्द्रित कुरा पनि आउनुपर्छ। नेताले के बोल्यो भन्ने मात्र होइन।’ उनले कांग्रेसभित्रको बहसलाई व्यक्ति केन्द्रित नबनाई पार्टीको इतिहास, विचार, नीति र आगामी दिशाबारे केन्द्रित गर्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस्