Skip to content

‘इनफ इज इनफ’ भन्दै कांग्रेस नेता धर्मानन्द जोशीको आक्रोश, इतर पक्षको भेलामाथि प्रश्नैप्रश्न

काठमाडौं – नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसभित्र मौलाउँदै गएको गुटगत राजनीति, आरोप–प्रत्यारोप र नेतृत्वको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा दार्चुलाबाट कांग्रेसका उम्मेदवारसमेत बनेका जोशीले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै ‘इनफ इज इनफ’ भन्दै अब पार्टीभित्रका गलत प्रवृत्तिविरुद्ध निर्मम भएर लड्नुपर्ने बताएका हुन् । जोशीले वर्षायाममा करोडौँ खर्च गरेर आयोजना गरिएको भनिएको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाको औचित्यमाथि नै प्रश्न उठाएका छन्। उनले भेलामा मुलुकका तत्कालीन राष्ट्रिय राजनीतिक मुद्दा, कानुनी शासन, भ्रष्टाचाररहित सुशासन र समुन्नत नेपालको विकासका लागि कुनै नयाँ राजनीतिक सिद्धान्त वा दृष्टिकोणमाथि बहस भएको हो कि केवल संस्थापन पक्षलाई गाली गर्ने कार्यक्रम हो भन्दै प्रश्न गरेका छन् । उनले यसअघि बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा समेत ‘गगन थापा निन्दा कार्यक्रम’ जस्तो देखिएको टिप्पणी गर्दै अहिलेको भेला पनि त्यही प्रवृत्तिको निरन्तरता भएको आरोप लगाए ।

‘३५ वर्ष सत्तामा बसेको कुरा किन बिर्सने?’

जोशीले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासहित पार्टीका पुराना नेताहरूप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै लामो समय सत्तामा रहेका नेताहरूले अहिले विगतका उपलब्धि र कमजोरीको समीक्षा गर्नुपर्ने बताए । ‘पार्टीमा रगत र पसिना बगाएको कुरा गर्ने, पारिवारिक विरासतका कुरा गर्ने, तर त्यसकै आधारमा पाँच–पाँच पटक प्रधानमन्त्री बनेको र अरू आदरणीयहरू पनि विगत ३५ वर्षसम्म सत्तामा यो वा त्यो हैसियतमा हालीमुहाली गरेको कुरा किन बिर्सेको?’ उनले प्रश्न गरेका छन् । उनले विगतमा कांग्रेस, माओवादी र एमाले नेतृत्वको सरकारबाट आजित भएका जनताले परिवर्तनको माग गरिरहेको अवस्थामा कांग्रेसले समयमै नियमित महाधिवेशन गर्न नसकेको विषय पनि उठाएका छन्।

विशेष महाधिवेशनदेखि चुनावसम्म देउवामाथि प्रश्न

जोशीले विशेष महाधिवेशनमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुँदा पनि देउवाले त्यसमा सहभागी हुन अस्वीकार गरेको भन्दै प्रश्न गरेका छन्  । विशेष महाधिवेशनपछि पार्टी विशेष परिस्थितिमा निर्वाचनमा जाँदा निवर्तमान सभापति देउवाले कांग्रेसका उम्मेदवारको पक्षमा प्रचारप्रसार नगरेको तथा सामान्य विज्ञप्तिसमेत जारी नगरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । उनले यसलाई ‘व्यक्ति केन्द्रित र क्रुर’ व्यवहारको संज्ञा दिँदै पार्टीभित्र एकताको कुरा गर्ने नेताहरूले नै गुटगत भेलामा सहभागी भएर एकअर्कामाथि सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिले पार्टी एकताको वातावरण नबन्ने टिप्पणी गरेका छन् ।

‘गालीगलौज गर्ने प्रवृत्तिविरुद्ध निर्मम भएर लड्नुपर्छ’

जोशीले कांग्रेसको राजनीतिक संस्कृतिमाथि समेत गम्भीर चिन्ता व्यक्त गरेका छन्। राजा र राणासँग संघर्ष गर्दा समेत मर्यादित भाषा र राजनीतिक सभ्यता कायम राखेको कांग्रेसमा पछिल्लो समय केही नेताहरूबाट सार्वजनिक रूपमा गालीगलौज भइरहेको उनको आरोप छ । निवर्तमान सभापतिले त्यस्तो प्रवृत्तिलाई संरक्षण गरेको, निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग भएको र वर्षभरि कांग्रेस भएर चुनावको दिन पार्टीकै उम्मेदवारलाई मत नदिने प्रवृत्ति देखिएको भन्दै उनले त्यसविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका छन् । ‘पार्टी एकताबद्ध रहनुपर्छ, रहन्छ होला पनि। १५औँ नियमित महाधिवेशनले त्यो गर्छ होला। तर उल्लेखित प्रवृत्तिहरूलाई जरैदेखि नउखेलुन्जेलसम्म पार्टी जुटोस् वा फुटोस्, यस लोकतान्त्रिक पार्टीमा निरन्तर क्षयीकरण भइरहनेछ,’ जोशीले भनेका छन् ।

‘बीपीको बाटो गुट्खा खाएर हिँडिँदैन’

जोशीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक दर्शनको हवाला दिँदै केवल बीपीको नाम लिँदैमा उनको विचारको अनुयायी बन्न नसकिने टिप्पणी गरेका छन् । ‘बीपी पथमा हिँड्न गुट्खा खाएर हुँदैन। रगतको नाता भएर पनि हुँदैन,’ उनले भनेका छन्, ‘त्यसका लागि बीपी र उनका कृतिहरूको मात्र नभई समकालीन राजनीतिबारे अध्ययन, चिन्तन, मनन, त्याग र त्यसमा परावर्तन भएको ब्रह्मज्ञान चाहिन्छ।’ उनले बीपी कोइरालाले राजा महेन्द्रसँग प्रजातन्त्रका लागि आजीवन प्रधानमन्त्री पद नसाटेको तथा गणेशमान सिंहले राजा वीरेन्द्रसँग प्रधानमन्त्री पद त्यागेको प्रसंग स्मरण गर्दै उनीहरूको राजनीतिक त्याग र दूरदृष्टिबाट अहिलेका नेताहरूले सिक्नुपर्ने बताएका छन् । जोशीले कांग्रेसभित्रको पछिल्लो विवादलाई केवल गुटगत प्रतिस्पर्धाका रूपमा नभई पार्टीको राजनीतिक संस्कार, निष्ठा र लोकतान्त्रिक पद्धतिको प्रश्नका रूपमा हेर्नुपर्ने धारणा राखेका छन् । ‘ईमान, निष्ठा, लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र समुन्नत नेपालको लागि घरबाहिर मात्रै होइन, घरभित्र पनि लडिरहनु जरुरी छ। फेरि फेरि विषै पिउनु परे पनि, एक चुनावमा हारजीत फेरि फेरि भए पनि,’ उनले भनेका छन् । आफ्नो लामो धारणा अन्त्य गर्दै कांग्रेस नेता जोशीले पार्टी जुटे पनि वा फुटे पनि गलत प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै भनेका छन्—‘इनफ इज इनफ ।’

प्रतिक्रिया दिनुहोस्