Skip to content

भोलि विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री निवासमा सोमबार भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो। विश्वासको मतसम्बन्धी आवश्यक रणनीति तय गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ । मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गरिनेछ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारीसमेत गरेका छन् ।

हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाका तर्फबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ । सरकार विस्तार तथा विश्वासको मतका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो। त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मतका विषयमा छलफल भएको थियो । मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तारको प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्