काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तत्काल मन्त्री हेरफेर गर्ने कुनै तयारी नरहेको बताएका छन् । बुधबार रास्वपा संसदीय दलको कार्यालयमा सांसद तथा मन्त्रीहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूको कामकारबाहीबारे प्रश्न उठ्नु स्वाभाविक भएको बताए। उनले मन्त्री फेर्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारे ।
‘कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा १/२ वटा वा ४/५ वटा काममा प्रश्नहरू आउनु स्वाभाविक हो। त्यसलाई हामी अस्वाभाविक मान्दैनौँ,’ उनले भने, ‘रास्वपाभित्र हामी आफैँ पनि प्रश्न गर्ने गर्दछौँ। मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन ।’ लामिछानेले बुधबारको छलफललाई संसदीय दलको औपचारिक बैठक नभएको समेत स्पष्ट पारे। उनका अनुसार सभापतिले सांसदहरूसँग गर्ने आन्तरिक छलफलका रूपमा कार्यक्रम आयोजना गरिएको हो।
‘दलको बैठक पछि बस्दै छ। त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन,’ उनले भने । बैठकमा संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति र उठाउने विषयबारे छलफल भएको लामिछानेले जानकारी दिए। उनका अनुसार संसद्मा मर्यादित ढंगले प्रस्तुत हुने तथा आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा छलफल भएको छ । ‘संसद्मा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषयहरू हुने लगायतका विषयमा छलफल गरेर एउटा राम्रो बुझाइका साथ अगाडि जाने विषयमा आज छलफल भएको हो,’ लामिछानेले बताए ।



प्रतिक्रिया दिनुहोस्