Skip to content

रास्वपालाई श्रम संस्कृतिका ध्रुवराज राईको आग्रह- आफ्नै सरकार नढाल्नुहोला

काठमाडौँ – प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नै सरकार ढल्ने अवस्था आउन नदिन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले आगामी अधिवेशनमा पछिल्लो अधिवेशन जसरी हेलचेक्र्याँइ नगर्न सरकारलाई सुझाव दिएका हुन् । ‘दुःखका साथ भन्छु, फेरि तीन महिनापछि भेट होस्। आफ्नै सरकार नढाल्नुहोला।अहिलेसम्म हाम्रा मागहरूलाई जसरी अपमान गरियो अब सुरू हुने अधिवेशनमा त्यस्तो माग राख्ने वातावरण नबनोस्। हामी त्यसरी अगाडि बढ्नुपर्ने अवस्था नआओस्,’ उनले भने ।

उनले संसदको पछिल्लो अधिवेशनमा सरकारका मन्त्रीहरूबाट जबाफ पाइए पनि सरकार प्रमुखबाट जबाफ नपाइएको बताए । ‘अधिवेशन सकिँदै गर्दा जनताहरूलाई रित्तै फर्किँदै छु भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनतामाझ फर्किँदै छु तर उत्साहका साथ फर्किएको छैन।सरकार प्रमुखले जिम्मेवार ढंगले भोजपुरे जनता लगायत सम्पूर्ण विपक्षीहरूको खोजेको उत्तर दिन खोजेको छैन,’ उनले भने ।

उनले सरकारको यस्तै रवैया भए गएको भदौ २३-२४ फर्किन सक्नेतर्फ सचेत गराए । ‘हिजो २३ र २४ को आन्दोलनमा पुरानो भनिएका दलका व्यवहार र भ्रष्टाचारका कारण घर जलेका थिए। अब हाम्रो घर जोगाउन मुस्किल पर्ला कि। अहिलेसम्मको अधिवेशनको गतिविधि हेर्दा,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्