Skip to content

राष्ट्रसंघको महासभामा सहभागिताबारे परराष्ट्रमन्त्रीले गराए संसद्लाई जानकारी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा नेपालको तर्फबाट भएको सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु सङ्कटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाएको बताए । भोटेकोसी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गरेको खनालले जानकारी दिए ।

उनले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्र सङ्घीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गरेका छन्। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले असोज ६ देखि १० गतेसम्म न्युयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा न्युन योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर मार खेपिरहेको तथ्य उजागर गरेको खनालले जानकारी दिए। विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढेको हिमपहिरो, बाढी र पहिरोको जोखिमबारे सचेत गराउँदै उनले पूर्वसूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड दिएको बताए ।  उनले महासभाको दौरानमा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेको संसद्लाई जानकारी दिएका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री खनालले आफैँले पनि विभिन्न ८० वटा कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्