Skip to content

हामी दास होइनौं, सरकारका गलत कदमको विरोध गर्छौं: ज्ञानेन्द्र शाही

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाएका छन् ।  प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै शाहीले भ्रष्टाचार नियन्त्रण र अपराधिलाई कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिएका छन्। सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीको क्षेत्रमा ठोस नीति ल्याउएमा सरकारलाई सहयोग गर्ने बताए।

‘हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ,’ शाहीले भने, ‘यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ।’

जेनजी आन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको उनको भनाइ छ। आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासिनता देखाएको उनको आरोप छ ।  उनले लामो समयदेखि थन्किएका भ्रष्टाचारका ठूला काण्डहरू छानबिन कहाँ पुग्यो भन्दै सरकारलाई प्रश्न गरे। कानुनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्नेमा उनले जोड दिए ।

उनले सरकारका कमिकमजोरी औंल्याउन सत्ता पक्षका सांसदलाई पनि आग्रह गरे। सरकारलाई सही बाटोमा देखाउनुपर्ने उनको भनाइ थियो ।  ‘सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, बरु सही बाटो देखाउन सक्नुपर्छ,’ शाहीले भने, ‘हामी दास होइनौँ, त्यसैले सरकारका गलत कदमको विरोध गर्न हामी पछि हट्ने छैनौँ।’ रोजगारीको विषयमा चिन्ता व्यक्त गर्दै शाहीले विमानस्थलमा युवाको लर्को देख्नुपर्ने विवशता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। उनले युवा विदेशिन नपर्ने वातावरण बनाउन र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्