दार्चुला – अपिहिमाल गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन हुने भएको छ। करदाता सेवा सञ्चालनसम्बन्धी आन्तरिक राजस्व कार्यालय डडेल्धुरा र अपिहिमाल गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतासँगै अपिहिमाल गाउँपालिकाका नागरिक तथा व्यवसायीले करसम्बन्धी सेवा स्थानीयस्तरबाटै प्राप्त गर्न सक्ने भएका छन्। यसअघि करसम्बन्धी सेवा लिन डडेल्धुरा जानुपर्ने बाध्यता रहेकामा अब गाउँपालिकाबाटै सेवा उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।
सम्झौतापत्रमा आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख गगनबहादुर शाही र अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले हस्ताक्षर गरेका छन् । सम्झौता गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराको रोहवरमा भएको हो ।
सम्झौतापछि अबको केही दिनभित्रै अपिहिमाल गाउँपालिकाबाट करदाता सेवासम्बन्धी कार्यहरू नियमित रूपमा सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले करसम्बन्धी सेवा लिन नागरिक तथा व्यवसायीले टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले गाउँपालिकामै करदाता सेवा सञ्चालनको व्यवस्था मिलाइएको बताए । उनले स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि नागरिक तथा व्यवसायीलाई समय र खर्चको बचत हुनुका साथै करसम्बन्धी काम सहज र सरल हुने विश्वास व्यक्त गरे। स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने प्रयासअन्तर्गत करदाता सेवा पनि गाउँपालिकामै सञ्चालन गर्न लागिएको अध्यक्ष ठेकरेको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्