काठमाडौँ – नेपाली कांग्रेसकी युवा नेतृ अम्बिका चलाउनेले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी चलाउनेले कांग्रेसको १२औँदेखि १५औँ महाधिवेशनसम्म अछाम क्षेत्र नम्बर २ बाट लगातार सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुँदै आएकी छन् । चलाउनेले २०६५ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट अछामस्थित पञ्चदेवल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति निर्वाचित भएर आफ्नो राजनीतिक यात्रा अघि बढाएकी थिइन् । स्ववियु सभापतिमा निर्वाचित भएयता उनी सक्रिय राजनीतिमा निरन्तर रहँदै आएकी छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी चलाउने हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सहमहामन्त्री तथा अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख छन् ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय चलाउने सुदूरपश्चिममा कांग्रेसको युवा पुस्ताकी प्रभावशाली नेतृका रूपमा परिचित छन् । कार्यकर्तामाझ लोकप्रिय मानिने उनले यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्