Skip to content

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, उद्घाटनमा प्रचण्डदेखि रविसम्म सहभागी हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ । गत पुसमा दोस्रो विशेष महाधिवेशन गरेको कांग्रेसले आजदेखि १५औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुँदै छ । कांग्रेसले उद्घाटन समारोहलाई विशेष बनाउन खुलामञ्चमा भव्य तयारी गरेको छ । साथै, महाधिवेशनको उद्घाटनमा सम्बोधनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणासमेत गरिएको छ । उद्घाटन समारोहमा सहभागिताका लागि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई पत्र पठाएको छ । त्यस्तै, महाधिवेशनमा सहभागिताका लागि देशभरिका महाधिवेशन प्रतिनिधि शनिबारदेखि नै काठमाडौंमा आउन सुरु गरेका छन् । कांग्रेसले प्रतिनिधिको दर्ताका लागि शनिबारदेखि नै पार्टी कार्यालय सानेपामा डेक्स खुला गरेको छ । गगनकुमार थापाको नेतृत्वमा रहेको कांग्रेसको संस्थापनपक्षले महाधिवेशन गर्दैगर्दा निवर्तमान सभापति शेरबहादुर देउवाको समूह भने बाहिरै रहेको छ । यो समूहले छुट्टै महाधिवेशनको तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्