Skip to content

१५औं महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प प्रस्ताव

काठमाडौं-  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन् ।

प्रतिवेदनमा कांग्रेसले लोकतान्त्रिक संस्कृतिको क्षय नियन्त्रण गर्दै पुनर्जागरणतर्फ अघि बढ्न भन्दै १५ वटा सार्वजनिक संकल्प प्रस्ताव गरेका छन् । प्रतिवेदनमा कांग्रेसले व्यक्ति केन्द्रित राजनीति नगर्ने, स्थायी गुटलाई संगठनको आधार नबनाउने र एउटै व्यक्तिले प्रभावका आधारमा पटक–पटक पद दोहोर्‍याउने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, विचार र सिद्धान्तलाई अवसरअनुसार परिवर्तन नगर्ने, पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने तथा पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने उल्लेख छ ।

कांग्रेसले नागरिक जनादेशलाई अहंकारमा परिणत नगर्ने र चुनावी घोषणापत्रलाई कार्यान्वयन नगरी बिर्सिने दस्तावेजका रूपमा सीमित नगर्ने संकल्प पनि गरेको छ। कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति स्वीकार नगर्ने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने प्रतिबद्धता प्रतिवेदनमा छ । सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने, योग्य युवालाई उमेरकै कारण नेतृत्वको प्रतीक्षामा सीमित नराख्ने र समावेशितालाई संख्यामा मात्र सीमित नगर्ने विषयलाई पनि संकल्पमा समेटिएको छ ।

त्यसैगरी योगदानको कदर गर्ने तर त्यसलाई मात्रै योग्यताको आधार नबनाउने तथा क्षणिक स्वार्थभन्दा संस्था, विचार र लोकतान्त्रिक मूल्यलाई माथि राख्ने कांग्रेसको संकल्प छ । शर्माको प्रतिवेदनमा उल्लेख १५ संकल्पले कांग्रेसभित्रको व्यक्ति केन्द्रित राजनीति, गुटबन्दी, नेतृत्व दोहोरिने प्रवृत्ति, अपारदर्शिता, राजनीतिक संरक्षण र युवाको नेतृत्वमा पहुँच जस्ता विषयलाई सुधारको एजेन्डाका रूपमा अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्