काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिमबाट युवा नेतृत्वको दाबी प्रस्तुत गर्दै अम्बिका चलाउनेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीलाई अघि बढाएकी छन्। विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएकी चलाउनेले आफ्नो राजनीतिक अनुभव, संगठनात्मक भूमिका र स्थानीय तहको नेतृत्वलाई आधार बनाएर केन्द्रीय राजनीतिमा बलियो उपस्थिति खोजेकी हुन् ।
चलाउनेले नेपाल विद्यार्थी संघको इकाइ, क्षेत्र तथा जिल्ला कार्यसमितिमा सक्रिय भूमिका निर्वाह गरेकी छन्। २०६५ सालमा पञ्चदेवल क्याम्पस अछामको स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेकी उनी विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको राजनीतिमा स्थापित हुँदै आएकी नेतृ हुन् । उनको राजनीतिक यात्रामा नेपाली कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्यका रूपमा निर्वाचित भएको अनुभवसमेत रहेको छ। त्यस्तै, ११औँ महाधिवेशनबाट नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री निर्वाचित भएकी चलाउने हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सह–महामन्त्रीको जिम्मेवारीमा छन् ।
स्थानीय तहको नेतृत्वमा समेत अनुभव हासिल गरेकी चलाउने २०७४ सालमा पञ्चदेवल विनायक नगरपालिका, अछामको उपप्रमुख र २०७९ सालमा नगरप्रमुखमा निर्वाचित भएकी हुन्। पार्टी संगठनदेखि विद्यार्थी आन्दोलन र स्थानीय सरकार सञ्चालनसम्मको अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेकी छन् । चलाउने १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत रहेकी छन्। उनको प्रचार सामग्रीमा आफूलाई सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने युवा महिला नेतृका रूपमा प्रस्तुत गर्दै ‘जिता र इमानको खानी छैनन् जाती हेर्नु केन्द्रमा पठाउन पर्छ सुदूरकी चेली’ भन्ने सन्देश अघि सारिएको छ । राजनीतिक रूपमा लामो समयदेखि संगठनमा सक्रिय रहँदै आएकी चलाउनेले अब पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर सुदूरपश्चिमका मुद्दालाई प्रभावकारी रूपमा उठाउने दाबी गरेकी छन्। उनको उम्मेदवारीलाई सुदूरपश्चिमबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको हस्तक्षेप र महिला नेतृत्वको दाबीका रूपमा हेरिएको छ । शैक्षिक रूपमा स्नातकोत्तर समाजशास्तर अध्ययनरत चलाउनेको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमको युवा राजनीतिको बहसलाई थप चर्चामा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्