Skip to content

दशैँका लागि अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने तयारी

काठमाडौं – दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने तयारी भएको छ । अग्रिम टिकट बुकिङ खुलाउने विषयमा आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा सरोकारवालाबीच छलफल हुँदैछ । छलफलपछि अग्रिम टिकट बुकिङ खुलाउने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सडकको अवस्था मूल्याङ्कन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरिएको छ । विशेषगरी पहाडी तथा दुर्गम क्षेत्रका सडकको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन तथा टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ । यातायात व्यवसायीका अनुसार पोखरा, चितवन र भैरहवा जस्ता तुलनात्मक रूपमा सहज तथा सुरक्षित सडक भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री सुरु गरिसकेका छन् । तर, सडकको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाडी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गरिनेछ ।

दशैँमा ठूलो सङ्ख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, सवारीसाधनको व्यवस्थापन, सडकको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागिएको हो । यात्रुको चाप बढ्न थालेसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउन थालिएको छ । हिजोसम्म आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

बल्खु चोक, फर्पिङ चोक, हलचोक, नयाँ बसपार्क, चाबहिल र कोटेश्वरलगायतका स्थानमा सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुको चाप र आवश्यकताअनुसार थप सहायता कक्ष विस्तार गर्ने तयारी गरिएको छ । कुल १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्