काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेबाट मतदान सुरू हुने जानकारी दिएका छन् ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिए पनि साँझमा मतदान सुरू गर्दा रातभर मतदातालाई अप्ठ्यारो पर्ने भएकाले शुक्रबार बिहानदेखि थाल्ने निर्णय भएको बताए । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पनि ‘मिडिया ब्रिफिङ’मा खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थाल्ने निर्णयमा पुगेको जानकारी दिए ।
एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने
एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधिहरु ७ हजार ३१७ छन् । त्यसैले आज बिहान ७ बजेदेखि मतदान सुरु भए दिउँसो ३ बजे सकिने अनुमान छ ।
राष्ट्रिय सभागृह र खुलामञ्चमा हुनेछ मतदान
निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरेको छ । राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गर्ने छन् । खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने छन् । खुलामञ्चमा रहेको तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिहरुले मतदान गर्ने छन् भने हिमाल हलमा गण्डकी प्रदेशका मतदाताले मतदान गर्ने छन् । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने समितिले जनाएको छ । निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर गणना सुरु गर्ने जनाएको छ ।
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने छ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्