Skip to content

ओलीले खारेज गरे पोखरेलसँग सम्बन्ध बिग्रिएको चर्चा, भने– ‘कुनै मनमुटाव छैन’

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने चर्चालाई निराधार भन्दै खारेज गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको स्पष्ट पारेका हुन् । पछिल्ला केही दिनयता एमालेभित्र अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र उनीहरूबीच संवादसमेत टुटेको भन्ने चर्चा चलिरहेको थियो । महासचिव पोखरेलले अध्यक्ष ओलीको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले त्यसमा कुनै सत्यता नरहेको दाबी गरे ।

‘विल्कुलै सत्यता छैन । उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो । तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन,’ ओलीले भने । फोन नउठाएको भन्ने चर्चालाई मात्रै आधार बनाएर दुई नेताबीच सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ थियो । राजनीतिक विचार र जिम्मेवारीमा भिन्नता हुन सक्ने भए पनि त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्न नहुने ओलीले बताए । अध्यक्ष ओलीले पार्टी सञ्चालन र नीतिगत विषयमा शीर्ष नेतृत्वबीच निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको पनि उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्