काठमाडौँ – भारतको राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शन रोक्न ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनमा सहभागी हुन जाँदै गरेका १ हजार ५०० जनाभन्दा बढीलाई प्रहरीले शनिबार पक्राउ गरेको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रहरीका अनुसार दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका हुन् । प्रदर्शनस्थल जन्तरमन्तर र त्यसतर्फ जाने सडकमा ठाउँठाउँमा ब्यारिकेट राखिएका छन् भने संवेदनशील स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, तृणमूल कांग्रेसकी नेता ममता बनर्जी र अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनकी नेहा बोरासहित विभिन्न नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनको आयोजना गरेको कक्रोच जनता पार्टी (सिजेपी) का नेता अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई पनि दिल्ली विमानस्थलमा ओर्लिएलगत्तै नियन्त्रणमा लिइएको थियो।
चर्चित युट्युबर ध्रुव राठीलाई पनि प्रहरीले शनिबार बिहानै पक्राउ गरेको थियो । जन्तरमन्तर आसपास केही पत्रकारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । सिजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआइआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेको छ । पार्टीले यही माग राखेर मुम्बईमा अक्टोबर २ मा पनि प्रदर्शन गरेको थियो । दिल्ली प्रहरीले भने प्रदर्शनका आयोजकसँग आवश्यक अनुमति नभएको भन्दै जन्तरमन्तरमा प्रदर्शन गर्न नदिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
प्रदर्शनकारीलाई रोक्न विभिन्न प्रवेश तथा निकास बिन्दुमा ब्यारिकेट राखिनुका साथै निषेधित गतिविधि नगर्न सुरक्षाकर्मीहरूले हिन्दी र अंग्रेजी भाषामा माइकिङ गरेका थिए । सिजेपीका संस्थापक अभिजित दिप्केले सन् २०२४ यता करिब १३ करोड मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको आरोप लगाएका छन् । प्रदर्शनको घोषणापश्चात यातायात व्यवस्थासमेत प्रभावित भएको छ । दिल्ली मेट्रोले सुरुमा शुक्रबार राति ९ बजेदेखि शनिबारसम्म ५७ वटा स्टेसनमा प्रवेश तथा निकास बन्द गर्ने सूचना दिए पनि पछि त्यसलाई संशोधन गरी ४५ वटा स्टेसनमा सीमित गरेको थियो । सम्भावित ट्राफिक जामलाई कारण देखाउँदै रेलवेले शनिबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँदिल्ली र हजरत निजामुद्दिन स्टेसनमा पुग्ने केही मेल तथा एक्सप्रेस रेल पनि रद्द गरेको छ ।
प्रदर्शन रोक्न हजारौंको संख्यामा प्रहरी परिचालन र धरपकड भएपछि भारतका विभिन्न राजनीतिक दल र सामाजिक अभियानीहरूले विरोध जनाएका छन् । कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिँदै जति प्रहरी परिचालन गरे पनि पछि नहट्ने बताएका छन् । ‘जे गर्नु छ गर्नुस्। जति प्रहरी बोलाउनुस्। जति नेताहरूलाई पक्राउ गर्नुछ, गर्नुस्। युवाहरूलाई गिरफ्तार गर्नुस् । हामी सबैलाई थुन्नुस् । तर नडराउनुस्, हामी तपाईंलाई चार तिरबाट घेर्दै छौं । अब पछाडि हट्ने वाला छैनौं,’ राहुलले एक्समा भिडिओ सन्देश जारी गर्दै भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्