Skip to content

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार

काठमाडौं – सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

निकासा भएको रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ । प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ । मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको बताएका छन् । उनका अनुसार केही सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ भने केही विद्यालय विद्यार्थी अभावको समस्यामा छन् । उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार गर्दै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासका लागि शिक्षक, अभिभावक तथा विद्यार्थीको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्