काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को औपचारिक मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले मान्यता प्रदान गरेको जानकारी दिएको हो । एनपिएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुँदैछ ।
क्यानले आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउने क्यानको अपेक्षा छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एनपिएललाई औपचारिक मान्यता दिएकोमा आइसिसीप्रति धन्यवाद व्यक्त गरिएको छ । नेपाली क्रिकेटको विकास र एनपिएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आइसिसीको निरन्तर सहयोग, समर्थन र सहकार्यको अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्