काठमाडौं – गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ । २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न खुला गरिएको छ । ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन् । बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि रहेको पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। बेलीब्रिज निर्माण भएसँगै नदी वारपार गर्न सहज भएको छ ।
बूढीगण्डकी नदीमा गत असोज २५ गते बिहानपख आकस्मिक बाढी आएको थियो । सोही बाढीले आरुघाटको पक्की पुल बगाएको थियो । पुल बगाएको ९ दिनमै सम्पन्न भएको हो । असोज ३१ गतेदेखि सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्