Skip to content

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना, धान काट्न किसानलाई सुझाव

काठमाडौं – बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । आगामी मंगलबारदेखि करिब एक सातासम्म वर्षा हुन सक्ने पूर्वानुमान देखिएकाले किसान, यात्रु तथा सर्वसाधारणलाई सतर्क रहन सुझाव दिइएको छ ।  मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि वर्षाको सम्भावना देखाएका छन्। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको उनले बताएका छन् ।

चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै पोखरेलले वर्षाको सम्भावनाबारे जानकारी दिएका हुन्। उनका अनुसार विभिन्न मोडेलले वर्षा हुने स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन् । त्यसैले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ । मौसम पूर्वानुमानमा आगामी दिनमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला विवरणलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

धान काट्न किसानलाई सुझाव

आगामी सातादेखि वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन सुझाव दिइएको छ । आगामी मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा मौसम अनुकूल भएपछि मात्र कटाइ गर्ने गरी तयारी गर्नुपर्ने पोखरेलले बताएका छन् । केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि देखिएकाले किसानले थप सतर्कता अपनाउनुपर्नेछ। वर्षाका कारण धानबालीमा क्षति पुग्न सक्ने भएकाले कटाइ र भण्डारणको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । यसैगरी, हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा यात्रा तथा पदयात्रामा जोखिम बढ्न सक्ने भएकाले यात्रामा निस्कनेहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। यात्रा वा पदयात्राको योजना बनाएकाहरूले आधिकारिक मौसम पूर्वानुमान र सूचनाका आधारमा आफ्नो योजना तय गर्नुपर्नेछ ।

मौसम पूर्वानुमान अझै परिवर्तन हुन सक्ने भएकाले किसान, यात्रु तथा सर्वसाधारणले नियमित रूपमा अद्यावधिक मौसम विवरण हेर्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्