Skip to content

एक लाखको स्वास्थ्य बिमा सुविधा नघटेको बोर्डको स्पष्टोक्ति

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले बीमित नागरिकले पाउँदै आएको वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । हालै सेवा सुविधा घटाइएको भन्ने हल्ला फैलिएपछि बोर्डले यस्तो प्रष्टिकरण दिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउने व्यवस्था यथावत् रहेको छ । बोर्डले उक्त एक लाख रुपैयाँमध्ये २५ हजार रुपैयाँ बहिरङ्ग (ओपिडी) सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याइएको जनाएको छ। स्रोतको प्रभावकारी व्यवस्थापन र गम्भीर तथा जटिल रोगको उपचार सुनिश्चित गर्न सेवा रकम छुट्याएर प्रयोग गर्ने व्यवस्था गरिएको मल्लले बताए । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका हकमा प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको बोर्डले जनाएको छ। साथै, पाँच सदस्यीय परिवारले वर्षभरिमा बढीमा दुई हजार पाँच सय रुपैयाँ बराबरको ओपिडी सेवा लिन पाउने व्यवस्था गरिएको छ भने थप सदस्यका हकमा प्रतिसदस्य पाँच हजार रुपैयाँसम्म ओपिडी सुविधा थपिने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार हाल स्वास्थ्य बिमा कार्यक्रमको करिब ७० प्रतिशत बजेट सामान्य बिरामीको ओपिडी सेवामै खर्च भइरहेको छ। यसका कारण परिवारका सदस्यलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीले आफ्नै खर्चबाट ठूलो रकम व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने गरेको जानकारहरू बताउँछन् । सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम प्रभावकारी रूपमा खर्च होस् भन्ने उद्देश्यले ओपिडी, अस्पताल भर्ना तथा शल्यक्रिया जस्ता शीर्षक छुट्याइएको उल्लेख गर्दै सोहीअनुसार सेवा उपयोग गर्न सबै बीमितलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्