Skip to content

बालेन शाहको वाचा: दमक भ्यूटावर सञ्चालनदेखि ३०० शैयाको अस्पताल स्तरोन्नति

दमक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापा–५ का लागि सार्वजनिक गरिएको चुनावी वाचापत्रमार्फत दमकको भ्यूटावर नागरिकको उच्चतम उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले दमकको सभागृह र भ्यूटावरलगायत योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गरिने बताएका छन्। साथै, दमक–रवि–चिसापानी सडकलाई सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । संस्कृति संरक्षणतर्फ आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने ‘आदिवासी जनजाति रंगशाला’ निर्माण गरिने वाचा पनि वाचापत्रमा समेटिएको छ। दमकलाई पूर्वी नेपालको आइटी हबका रूपमा विकास गर्न आवश्यक पूर्वाधार तथा नीतिगत व्यवस्था सुनिश्चित गरिने उनले बताएका छन् । भूमि व्यवस्थापनका सवालमा रास्वपा सरकार गठन भएको १०० दिनभित्र आयोग गठन गर्ने र १००० दिनभित्र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने नीति अवलम्बन गरिने उल्लेख छ। बाँझो जमिनको सदुपयोगका लागि ‘ल्याण्ड बैंक’ स्थापना गर्ने तथा ऐलानी जग्गाको उचित व्यवस्थापन र नक्सांकन अभिलेखीकरण गरिने प्रतिबद्धता जनाइएको छ । स्वास्थ्य क्षेत्रतर्फ दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिने वाचा गरिएको छ। साथै, विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत नि:शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ । शाहले सार्वजनिक गरिएको वाचापत्र कार्यान्वयनको नेतृत्व स्वयंले गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्