काठमाडौँ – हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहर तथा तराईका अधिकांश स्थानमा ‘पिएम २.५’ (प्रदूषणका मसिना कण) को मात्रा बढेको जनाइएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
विभागले आज जारी गरेको अपिलमा वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्क प्रयोग गर्न, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न तथा फोहोर र बालीनालीका अवशेष नजलाउन आग्रह गरिएको छ ।
त्यसैगरी वन–जङ्गलमा डढेलो नलगाउन र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण कार्य गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न तथा उद्योग–कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले अनुरोध गर्नुभएको छ ।
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार निकाय र आम नागरिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सकारात्मक प्रयास भएमा मात्र प्रदूषण घटाउन सम्भव हुने विभागले जनाएको छ ।
विभागका अनुसार प्रदूषण बिहान र बेलुका बढी हुने गरेको छ। चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जित प्रदूषण फैलिन नसक्नु तथा लामो समयदेखि वर्षा नभएका कारण पनि यस याममा वायु प्रदूषण बढ्ने गरेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्