काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बुझाएको उम्मेदवारको सूचीलाई निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु गर्ने काम गरिरहेको छ । प्रक्रिया पूरा भएपछि आयोगले आजै समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गरेका छ दलले समानुपातिकतर्फका लागि पेस गरेका ११० जना उम्मेदवारको सूची आयोगले जाँच गरिरहेको हो ।
निर्वाचनमा समानुपातिकतर्फ कुल एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । तीमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
सदर मतमध्ये सबैभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लष्टरअनुसार ५७ सांसदको नाम पेस गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टीले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार–चार जनाको सूची आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूले बुझाएको सूची क्लष्टरअनुसार मिलेको छ कि छैन भन्ने विषयमा रुजु प्रक्रिया अघि बढाइएको हो । सूचीमा कुनै त्रुटि नदेखिए आजै समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।
यद्यपि सूचीमा त्रुटि भेटिएर सच्याउनुपर्ने अवस्था आएमा प्रक्रिया पूरा गर्न करिब तीन दिनसम्म समय लाग्न सक्ने आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्