कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रूपमा र्याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको छ । पानी सप्ताहको अवसर पारेर सोमबार निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटा लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा साहसिक जलयात्रा सुरु गरिएको हो । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीका अनुसार सन् २०१७ मा महाकाली बहुउपयोग परियोजनाअन्तर्गत र्याफ्टिङको सम्भाव्यता अध्ययन गरिएको थियो भने सन् २०२१ मा यसको सफल परीक्षणसमेत भइसकेको थियो । त्यसयता विभिन्न कारणले सञ्चालनमा आउन नसकेको र्याफ्टिङ सेवा अहिले पुनः व्यवसायिक रूपमा सुरु गरिएको उहाँले बताउनुभयो ।
हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा र्याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ । यसबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । र्याफ्टिङ सञ्चालनका लागि स्थानीय चालक किशन भट्टलाई जिम्मेवारी दिइएको जनाइएको छ । पाँचदेखि १० जनासम्मको समूहले प्याकेजमार्फत र्याफ्टिङ सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । भारततर्फ भने सन् २०१५ देखि नै दुई वटा कम्पनीले नियमित रूपमा र्याफ्टिङ सञ्चालन गर्दै आएका छन् ।
होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र सक्रिय रूपमा लागिरहेको बताउनुभयो । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीका अनुसार महाकाली नदी कम जोखिम र सहज जलयात्रा चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य हो । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि र्याफ्टिङ पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले प्रचारप्रसार तथा विकासमा सहकार्य गर्ने बताउनुभयो भने भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले आवश्यक पूर्वाधार निर्माणमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्