काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले कार्की आयोगको प्रतिवेदन अपूर्ण, एकांकी र प्रतिशोध प्रेरित देखिएको बताएका छन् । भाद्र २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित कार्की आयोगलाई दिइएको कार्यादेश (TOR) अनुसार दोषीको पहिचान गरी तथ्यसहित सजायको सिफारिस गर्नुपर्ने भए पनि प्रतिवेदन त्यसअनुसार नआएको उनको भनाइ छ । उनले प्रतिवेदनको अध्ययन, सार्वजनिकीकरण र कार्यान्वयन प्रक्रियामा समेत पारदर्शिताको अभाव रहेको उल्लेख गरे ।
नेता बडूले राजनीतिक नेतृत्वमाथि गरिएको धरपकड पनि स्थापित कानूनी प्रक्रिया विपरीत, चयनात्मक र हतारोमा गरिएको जस्तो देखिएको टिप्पणी गरे । उनले लोकतन्त्रको मूल आधार नै पारदर्शिता र कानूनी शासनको सुनिश्चितता भएको उल्लेख गर्दै त्यस्तो सुनिश्चितता प्रतिबद्ध, इमानदार र जवाफदेही सरकार, उत्तरदायी संसद, सचेत नागरिक समाज तथा स्वतन्त्र न्यायपालिकाबाट मात्र सम्भव हुने बताए । वर्तमान परिस्थितिमा निष्पक्ष, निर्भीक र स्वतन्त्र न्यायपालिकाको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उनले बताए । “स्वतन्त्र न्यायपालिकाप्रति विश्वास राख्दै सबै पक्ष संयमित बन्नु आवश्यक छ,” उनले भने । उनले अहिलेको अवस्थामा थप अशान्ति र मुठभेड मुलुकको हितमा नहुने उल्लेख गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई अवसरका रूपमा लिएर लोकतन्त्र सुदृढीकरण र समुन्नत नेपाल निर्माणमा सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्