काठमाडौँ – दुई-चार दिनभित्रै इरानले घुँडा टेक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी विपरीत युद्ध महिना दिनभन्दा बढी लम्बिएपछि अमेरिकाले मध्यपूर्वमा सैन्य तैनाथी बढाएको हो । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले आइतबारसम्म मध्यपूर्वी क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या ५० हजार पुगेको उल्लेख गरेको छ । सामान्य परिस्थितिमा अमेरिकाले मध्यपूर्वका विभिन्न देशहरूमा गरी ४० हजार अमेरिकी सैना तैनाथ गर्दै आएकामा इरानसँग युद्धपछि १० हजार बढी सैनिक पठाएको छ । मध्यपूर्वमा ठूलो संख्यामा सैनिक बढाएपछि ट्रम्पमाथि इरानमा स्थल कारबाही गर्नुपर्ने दबाब बढेको पनि टाइम्सले लेखेको छ ।
पछिल्लो समय अमेरिकाले जापानस्थित सैन्य अड्डाबाट २५०० मरिन (समुद्रबाट लड्ने सेना) मध्यपूर्व पठाएको थियो। सोही संख्यामा अमेरिकाको पश्चिमी किनारबाट पनि त्यस्तै फौज मध्यपूर्वमा पठाएको न्युयोर्क टाइम्सले जनाएको छ । मरिनहरू समुद्रबाट जमिनमा आक्रमण गर्ने विशेष सेना हो। नौसेना समुद्रमै लड्ने सेना हुन् । यसअघि पेन्टागनले ८२ औं एयरबोर्न डिभिजन अन्तर्गतका २ हजार बढी सैनिकहरू मध्यपूर्व पठाएको थियो । एयरबोर्न सैनिकहरु (प्याराट्रुपर) युद्ध क्षेत्रमा छिटो प्रतिक्रिया दिन सक्ने (इमिडियट रेस्पोन्स फोर्स) विशेष बल हो । यस्ता सैनिकहरु प्यारासुटबाट सिधै युद्ध क्षेत्रमा उतारिन्छ । यसले सुरूवात आक्रमणको नेतृत्व गर्छ भने मुख्य सेनाका लागि बाटो खोल्ने काम गर्छ। विशेषगरी सरप्राइज आक्रमणका लागि पनि यस्ता सेना प्रयोग गरिन्छ ।
युद्धको सुरूवातदेखि नै अमेरिकी युद्धपोत अब्राहम लिंकन मध्यपूर्वमा तैनाथ छ । अर्को युद्धपोत युएसएस जेराल्ड फोर्ड भने फिता भइसकेको छ। इरानसँग युद्धको दौरान यो युद्धपोतमा आगो लागेको थियो । इरानी सञ्चारमाध्यमहरुले इरानी मिसाइल हमलाबाट युद्धपोतमा आगो लागेको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले भने प्राविधिक कारणले आगलागी भएको बताएको छ । आगलागीबाट युद्धपोतको मुख्य इन्जिनमा कुनै समस्या नभए पनि लामो समयदेखि समुद्रमै तैनाथ रहेका कारण चेकजाँच र विश्रामका लागि रेड सीबाट फिर्ता गरी ग्रीसको क्रेते टापु नजिकैको बन्दरगाहमा लगिएको थियो। अहिले क्रोएसियाको बन्दरगाहमा राखिएको छ । कतारी मिडिया अलजजिराका अनुसार मध्यपूर्वमा अस्थायी र स्थायी गरी १९ वटा अमेरिकी सैन्य अखडा छन् ।
कतार, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरब इराक, जोर्डनमा अमेरिकाको सैन्य अड्डा छ । कतारमा सबैभन्दा बढी ८ देखि १० हजारको संख्यामा अमेरिकी सेना छन्। कतारस्थित अल उदैद एयर बेस मध्यपूर्वको अमेरिकी कमाण्ड सेन्टर पनि हो । मध्यपूर्वमा अमेरिकी नौसेनाको कमाण्ड बहराइन स्थित ‘फिफ्थ फ्लिट’ले गर्छ। फिफ्थ फ्लिटमा झन्डै ९ हजार सैनिक रहेको बताइन्छ । कुवेतमा पनि हजारौंको संख्यामा सैनिक छन्। कुवेतको क्याम्प अरिफजन अमेरिकी सेनाको सबैभन्दा ठूलो लजिस्टिक हब हो। युएई, साउदी, इराक, जोर्डन लगायतका देशहरूमा पनि केही हजारको संख्यामा सेना तैनाथ छन् । अमेरिकाले यिनै अड्डाबाट इरानमा हमला गर्दै आइरहेको छ। अहिले बढाइएको सैनिक तीनै अड्डाहरूमा खटाइन्छ । इरानको खर्ग टापु कब्जा गर्नका लागि अमेरिकाले सैन्य तैनाथी बढाइरहेको आकलन गरिएको छ। खर्ग टापु इरानको समुद्री किनारबाट १५ नटिकल माइल (२४ किलोमिटर) टाढा छ तर देशको ऊर्जा पूर्वाधारमा अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँको तेल टर्मिनलबाट ९० प्रतिशत कच्चा तेल निर्यात हुन्छ। यो इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्स (आइआरजिसी)को आर्थिक आयको मुख्य स्रोत हो ।
यहाँबाट तेल भरेर जहाजहरू स्ट्रेट अफ हर्मुजबाट बाहिरिन्छन् । हर्मुजमा अहिले इरानको अवरोध जारी छ। खर्ग टापु कब्जा गरेर इरानलाई हर्मुजको अवरोध हटाउन बाध्य पार्ने रणनीति हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएट प्रेस (एपी)ले जनाएको छ । भीषण आक्रमण गरेर खर्ग टापुका सबै सैन्य संरचना ध्वस्त पारेको ट्रम्पले यसअघि घोषणा गरेका थिए। जापानबाट आइपुगेका सेना परिचालन गरेर उनले सो टापु कब्जा गर्न सक्छन् । त्यसो गरे इरानको तेलबाट हुने आम्दानी बन्द हुनेछ । अहिले धम्की दिए जस्तै बिजुली उत्पादन गर्ने केन्द्रमा प्रहार नै नगरे पनि खर्ग टापू अमेरिकी नियन्त्रणमा गए इरानलाई अप्ठ्यारो हुनेछ । ट्रम्पले भने खर्ग टापु कब्जा गर्नेबाहेकका अन्य विकल्पहरू रहेको बताएका छन् । ‘हामीसँग धेरै विकल्पहरू छन्। त्यसकारण केही समय त्यहाँ बस्नुपर्ने हुन सक्छ । उनीहरूले सुरक्षा गर्न सक्छन् जस्तो पनि लाग्दैन । त्यसकारण चाह्यौं भने हामीले सजिलै लिन सक्छौं,’ ट्रम्पले फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका छन् । सैन्य तैनाथी बढाएर ट्रम्पले इरानलाई सहमति आउन भनेर पटक पटक अल्टिमेटम दिँदै आएका छन् । उनले अप्रिल पहिलो सातासम्म इरानमा हमला नगर्ने भनेको छन् । त्यतिन्जेलसम्म सहमतिमा आउन पनि ट्रम्पले धम्की दिएका छन् । अमेरिकाले त्यसो भनेर इरानलाई झुक्क्याएको हुनसक्ने, बरू स्थल आक्रमणकै लागि भित्रभित्रै तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । भेनेजुएलामाथि आक्रमण र फेब्रुअरी २८ मा इरानमाथिको आक्रमण पनि ट्रम्पको ‘सरप्राइज’ हमला थियो । संवादबाटै समाधानको प्रयत्न भइरहेको देखाएर ट्रम्पले यसपालि पनि भित्रभित्रै स्थल आक्रमणको योजना बनाएको आशंका इरानको छ । त्यसो गरे अमेरिकी सेनालाई ‘जलाइदिने’ धम्की इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले दिएका छन् । उनले इरानी फौज अमेरिकी सेना कुरेर बसिरहेको चेतावनी पनि दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्