काठमाडौं – नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य गीता गुरुङले सामाजिक सञ्जालमा महिलामाथि भइरहेका भद्दा र अमर्यादित टिप्पणीप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । उनले लोकतन्त्रको वास्तविक सौन्दर्य विचारको बहुलता र असहमतिलाई सम्मानपूर्वक स्वीकार गर्ने संस्कारमा निहित हुने बताउँदै, अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरिरहेका महिलामाथि गरिने तल्लोस्तरका टिप्पणीहरूले समाजको सभ्यता र लोकतान्त्रिक परिपक्वतामाथि प्रश्न उठाउने उल्लेख गरिन् । गुरुङका अनुसार विचारलाई तर्क र तथ्यका आधारमा खण्डन गर्नुको सट्टा शरीर, चरित्र वा यौनजन्य हिंसासम्बन्धी धम्कीलाई बहसको माध्यम बनाउनु बौद्धिक दरिद्रता र पितृसत्तात्मक मानसिकताको निकृष्ट अभिव्यक्ति हो । यस्तो प्रवृत्तिले केवल व्यक्तिको मानमर्दन मात्र नभई समावेशी सार्वजनिक विमर्शलाई समेत कमजोर बनाउने उनले बताइन् ।
उनले डिजिटल माध्यममा देखिने यस्ता अमर्यादित अभिव्यक्तिहरूले लोकतन्त्रलाई भीडतन्त्रमा रूपान्तरण गर्ने जोखिम बढाइरहेको भन्दै राज्य र समाज दुवैले फरक मत राख्ने नागरिकको आत्मसम्मान र सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिइन् । गुरुङले भौतिक विकाससँगै कानुनी साक्षरता र सामाजिक चेतनाको विकास आवश्यक रहेको उल्लेख गर्दै विमतिलाई सुन्ने धैर्यता, सहिष्णुता र अरूको मर्यादाको सम्मान गर्ने संस्कार अपरिहार्य भएको बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै अरूको आत्मसम्मानमा चोट पुर्याउने कार्यको निन्दा गर्न र सभ्य समाज निर्माणका लागि एकजुट हुन सबैलाई आह्वान गरेकी छन् ।





प्रतिक्रिया दिनुहोस्