काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माणको तयारी थालेका छन्। उनले चार कावलि र अनुभवी सहसचिवहरू रहेको बजेट लेखन समिति गठन गरेका हुन् ।
समितिमा सहसचिवहरू डा सुमन दाहाल, डा धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पौडेल रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनअगावै वाग्लेलाई अर्थमन्त्रीका रूपमा अघि सार्दै बजेट लेखन थाल्न भनेका थिए। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। तनहूँ १ बाट वाग्ले २१ हजार ८०९ मतान्तरले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
गत शुक्रबार प्रधानमन्त्री वालेन्द्र साहसहित गठित मन्त्रिमण्डलमा वाग्लेलाई अर्थको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्री नियुक्त भएपछि वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका थिए। अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउने उनको भनाइ छ। उदारको नाममा छाडा हुन भने नदिइने उनले बताएका थिए । निजी क्षेत्रलाई उनले लगानी गर्न उत्साही हुन र विदेशी लगानी भित्र्याउने वातावरण बनाउन अनुरोध गरिसकेका छन् ।
जेठ १५ मा आउने बजेटका लागि मुुलुकको इकोनोमिक ट्राजेक्टरी नै रिओरियन्ट गर्ने गरेर रुपान्तरणकारी बजेटको तयारी भैरहेको अर्थमन्त्री वाग्लेले बताएका छन् । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) दिएको छ ।





प्रतिक्रिया दिनुहोस्