काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले अमेरिका र इरानबीच जारी वार्ता आगामी २३ घण्टाभित्र सम्झौतामा पुगेर अन्तिम रूप लिन सक्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री शेहबाज सरिफले वार्ताका क्रममा देखाइएको प्रतिबद्धताका लागि अमेरिका र इरानलाई धन्यवाद दिएका छन्। साथै, यस प्रक्रियामा सहयोग पुर्याउने क्षेत्रका अन्य देशहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, “हामी विश्वस्त छौँ, यो ऐतिहासिक शान्ति सम्झौताले दिगो शान्तिका लागि बलियो आधार निर्माण गर्नेछ।” यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए । यद्यपि सम्भावित सम्झौताका विषयवस्तु, औपचारिक घोषणा र कार्यान्वयनको समयबारे थप विवरण सार्वजनिक गरिएको छैन। अमेरिका–इरान सम्बन्ध पछिल्लो समय विभिन्न कूटनीतिक र क्षेत्रीय विषयका कारण तनावपूर्ण रहँदै आएका बेला सम्भावित सहमतिलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।




प्रतिक्रिया दिनुहोस्