काठमाडौँ – राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने भएको छ। राससले भिजुअल एडिटर र छायाँकार पदमा गरी नौ जना कर्मचारी माग गर्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। राससले प्रकाशित गरेको सूचनाअनुसार भिजुअल एडिटर अधिकृतस्तर छैटौँ तहमा एक जना, सहायकस्तर पाँचौँ तहमा तीन जना र छायाँकार सहायकस्तर चौथो तहमा पाँच जना गरी कुल नौ जना कर्मचारी माग गरिएको छ। राससले पहिलोपटक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने जनाएको छ। योग्य उम्मेदवारले रासस प्रशासन शाखामा भौतिक रूपमा उपस्थित भएर वा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
आवेदनका लागि आवश्यक कागजातसहितको दरखास्त फाराम एउटै पीडीएफ फाइलमा तयार गरी दुई एमबीभन्दा सानो आकारमा इमेलमार्फत पठाउनुपर्ने सूचनामा उल्लेख छ। आवेदनका लागि राससले [email protected] इमेल ठेगाना उपलब्ध गराएको छ। रीत नपुगेका तथा म्याद नाघी प्राप्त भएका दरखास्तउपर कुनै कारबाही नगरिने राससले स्पष्ट पारेको छ। पदपूर्तिसम्बन्धी विस्तृत विवरण तथा दरखास्त फाराम राससको आधिकारिक वेबसाइट rssnepal.org.np/publication मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।





प्रतिक्रिया दिनुहोस्